सञ्चारसम्बन्धी कार्य, चिठीपत्र, पार्सललगायत हुलाक वस्तुहरु आदान प्रदान गर्नका लागि जिल्लामा स्थापना भएको एक सरकारी कार्यालय जिल्ला हुलाक कार्यालय हो । पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ४ स्थित हुलाक टोलमा आफ्नै भवनमा सञ्चालित रहेको छ । यहाँ हाल १ जिल्ला हुलाक कार्यालय, ९ वटा हुलाक कार्यालय र ४४ वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् । पाल्पा जिल्लामा संघीय संरचना बमोजिम २ नगरपालिका र ८ गाउँपालिका गरि जम्मा १० वटा स्थानीय तह रहेका छन् । १० वटा स्थानीय तह अन्तर्गत १ वटा तानसेन नगरपालिकामा जिल्ला हुलाक कार्यालय, पाल्पा रहेको छ र ९ वटा हुलाक कार्यालयहरुमा हुलाक कार्यालय,निस्दी गाउँपालिका, हुलाक कार्यालय रामपुर नगरपालिका, हुलाक कार्यालय पूर्वखोला गाउँपालिका, हुलाक कार्यालय,रम्भा गाउँपालिका, हुलाक कार्यालय माथागढी गाउँपालिका, हुलाक कार्यालय तिनाउ गाउँपालिका, हुलाक कार्यालय बगनासकाली गाउँपालिका, हुलाक कार्यालय रिब्दीकोट गाउँपालिका र हुलाक कार्यालय रैनादेवी छहरा गाउँपालिकामा सञ्चालनमा रहेका छन् । जिल्ला हुलाक कार्यालयबाट प्रदान गरिने सेवाहरु निम्न बमोजिम रहेका छन् -
- हुलाक वस्तुको दर्ता तथा वितरण सम्बन्धी सम्पुर्ण सेवाहरु ,
- हुलाक वस्तुको आदानप्रदान (डाँक आदान प्रदान),
- हुलाक टिकट बिक्री ,
- सहुलियत दरमा चलानको लागि पत्र पत्रिका दर्ता तथा नविकरण,
- पोष्टबक्स सेवा
- जिल्लामा सञ्चालित एफ.एम.रेडियोहरुको ईजाजत पत्र तथा लाइसेन्स नविकरण ।
- सूचना तथा प्रसारण विभागबाट प्रत्यायोजित पत्रकार परिचय पत्र वितरण तथा नविकरण/ अनाइन समाचार पत्र नविकरण
- बिज्ञापन बोर्डबाट अधिकारी प्रत्यायोजन भए अनुसारको छापा माध्यम/विद्युतिय सञ्चार माध्यमको लागि लोककल्याणकारी बिज्ञापन प्रकाशन/प्रसारणको रकम भुक्तानी ।
सेवा हि परमोधर्म" भन्ने मुल मन्त्रलाई आत्मसात गरी प्राचीनकाल देखि नै आम सर्वसाधारण जनताको सञ्चारको आदान प्रदान गर्ने सशक्त माध्यमको रुपमा हुलाक रहेको छ । नागरिकको संविधान प्रदत्त मौलिक हकको रुपमा रहेको सूचनाको हकको संरक्षण र संवर्द्धन गर्दै आमसञ्चारलाई स्वच्छ, सक्षम, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यवसायिक बनाउन आवश्यक व्यवस्था गर्ने नीति हुने संबैधानिक व्यवस्था रहेको छ। त्यसैगरी वर्तमान संविधानले हुलाक सेवालाई संघको अधिकार सूची अन्तर्गत समावेश गरेको छ। सूचना तथा सञ्चारका विभिन्न माध्यमहरुमध्ये हुलाक सेवा सबैभन्दा पुरानो र महत्वपूर्ण माध्यमको रुपमा रहेको सर्बविदितै छ। वि.सं. 1935 मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको मानिन्छ। हुलाक घरको स्थापना पश्चात पहिलो पटक गोरखा, ताप्लेजुङ् र पाल्पामा हुलाक कार्यालयको स्थापना भएको र स्थापना कालदेखि नै जिल्ला हुलाक कार्यालयले निरन्तर रुपमा आफ्नो सेवा प्रवाह गर्दै आएको छ। लुम्बिनी प्रदेश अन्तर्गत पर्ने पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारको केन्द्रमा रहेको कार्यालय भवनबाट सेवा प्रवाह भईरहेको छ।